मणी सरब्ज तमु : मार्ग १५/२०७३, पोखरा

गुरुङ समुदायमा तमु मौलिक धर्म, संस्कार, संस्कृति मा आधारित ‘आहा नि ! क्या राम्री गुरुङ्सेनी’ कथा सङग्रह र ‘कसरी खाऊँ म्लेक्यु ?’ नाटक लेखेर एकाएक चर्चा आएका युवा कथाकार रोशन गुरुङ पेसाले इन्जिनियर हुन् । उनी थोरै लेख्छन्, तर गहन कुरा लेख्छन् । कुनै कुरा लेख्नु अघि धेरै अनुसन्धान गर्छन् । त्यसैले होला उनका कृतिको गहिरो छाप देखिन्छ । विशेषगरी उनको लेखनमा ‘रुवाउने कला’ अद्भुत मानिन्छ । एलादी–४, स्याङ्जामा जन्मिएका रोशनले हाल आफनो लेखनको विषसवस्तु ‘गुरुङ संस्कार’ बनाएता पनि उनमा कला, विज्ञान, दर्शन, राजनिति, समाज, मनोविज्ञान, अध्यात्म, माइण्ट टेक्नोलोजी इत्यादिमा उत्तिकै मजबुत ज्ञान छ । प्रस्तुत छ, उहाँ काम विशेषले पोखरा आएका बेला गरिएको प्रेरक कुराकानी :

१. प्रश्न : तपाईको ‘आहा नि ! क्या राम्री गुरुङ्सेनी’ पुस्तक अझै पनि वितरण भइरहेको देखिन्छ, अहिले कुन संस्करण चलिरहेको छ ?
उत्तर : तेस्रो संस्कारण

२. प्रश्न : तेस्रो संस्करणलाई तपाईले निशुल्क वितरण पनि गर्नुभएको छ, के त्यसो गर्दा तपाईलाई फाइदा हुन्छ ?
उत्तर : सबै फाइदा पैसामा मापन हुदैन । पहिलो संस्कारणको पुस्तक बजारमा आयो, पाठकहरुबाट मैंले धेरै राम्रा प्रतिक्रियाहरु पाउदै गएँ । पुस्तक पढेर धेरैले भन्थे, गुरुङ संस्कार के हो भनेर बल्ल बुझन पाइयो । यस्तो प्रतिक्रयाले मलाई उत्साहित बनाउथ्यो । वास्तवमा ‘आहा नि ! क्या राम्री गुरुङ्स्ेनी’ पुस्तक मैंले जागरणका लागि लेखेको हुँ, पैसाको लागि होइन ।

३. प्रश्न : निशुल्क वितरणले जागरण ल्याउछ भन्ने ग्यारेण्टी कसरी हुन्छ र ?
उत्तर : कहिलेकाही क्वालिटी र क्वान्टिटी बीच यस्तो सम्बन्ध हुन्छ, जब क्वान्टिटीलाई बढाइन्छ क्वालिटी पनि बढ्ने गर्छ । तेस्रो संस्कारलाई निशुल्क वितरण गर्दा तमु समुदायमा झन जागरण आउने देखें । त्यसैले निशुल्क वितरण सोच ल्याएँ । तेस्रो संस्करणका देश तथा विदेशमा रहनुभएका सम्पुर्ण प्रकाशकहरु, सल्लाकारहरुलाई हृदयदेखि धेरै धेरै सम्झन चाहन्छु, धन्यवाद दिन चाहन्छु, किनकी उहाँहरुको सहयोग विना निशुल्क वितरण सम्भव थिएन । पुस्तकको सम्पुर्ण श्रेय उहाँहरुलाई नै दिन चाहन्छु ।

४. प्रश्न : ‘आहा नि ! क्या राम्री गुरुङ्सेनी’ र ‘कसरी खाऊँ म्लेक्यु ?’ नाटकले तमु समुदायमा असाध्यै प्रभाव पारेको देखिन्छ नि । खास यस्तो प्रभाव पर्नुको कारण के होला, बताउन मिल्छ कि ?
उत्तर : मैंले जे लेखें, त्यो केवल मेरो रहरले लेखेको होइन, आवश्यकताले पनि लेखेको हो । गुरुङ संस्कार लोप हुदै थियो । गुरुङ समुदायमा त्यस्तो खालको कृति मैंले लेखे पनि नलेखे पनि आवश्यक थियो । मैंले लेखिदिएर नै आवश्यक भएको होइन, बरु त्यो तमुहरुकै एक ऐतिहासिक आवश्यकता थियो । आवश्यकताले वस्तुको निमार्ण गर्छ । रहरले पनि वस्तुको निमार्ण गर्छ । जहाँ रहर र आवश्यताको मिश्रण हुन्छ, त्यहाँ प्रभाव हुन्छ । यो एक नियम नै हो ।

५. प्रश्न : तपाईले कथा लेख्नुभयो, नाटक लेख्नुभयो । पछिल्लो समय फिल्म पनि लेख्दै हुनुहुन्छ रे भन्ने खबर सुन्नमा आउछ । के यो साँचो हो ?
उत्तर : अहिले म केही फिल्मी कामहरुमा पनि व्यस्त छु । दुई वर्ष अघि तमु प्ये ल्हु संघ, इजरायलको निमार्णमा ‘कसरी खाऊँ म्लेक्यु ?’ नाटक सार्वजनिक भएको थियो । त्यसपछि धेरै अडियन्सहरुले यसको भिडियो पनि छ ? भनेर प्रश्नहरु गर्न थाले । अडियन्सहरुका उत्सुकता, कौतुहलता झन झन बढ्दै गएको पाएँ । फिल्म बनाउनुपर्छ भन्ने सुझाबहरु धेरै ठाऊँबाट आए । ओडिन्यसहरुको जायज सुझावलाई मैंले नकार्न सकिनँ । म फिल्म लेख्न बाँध्य भएँ । अहिले लेखेर पनि सकिसकेको छु । गुरुङ फिल्म जगतकी नवोदित महिला निर्देशक जसु गुरुङले यो फिल्म निर्देशन गर्नेछिन् । अहिले प्रिप्रोडक्सन काम भइरहेको जानकारी म सबै दर्शकहरुलाई गर्न चाहन्छु ।

६. प्रश्न : फिल्मको कथावस्तु हुबहु नाटककोभैं हुन्छ की अर्कै ?
उत्तर : यो फिल्मको आधार नै नाटक हो, तर हुबहु नाटक जस्तो हुदैन । त्यसैले यो फिल्मको स्क्रिप्टलाई मैंले ‘एडप्टेड स्क्रिनप्ले’ भनेको छु । नाटकभन्दा फिल्ममा अझ धेरैहरु कुराहरु समावेश गरेको छु । फिल्मको कथावस्तु पनि ‘म्लेक्यु’ मा नै केन्द्रित छ, तर नाटकमा भन्दा अझ बृहत तरिकाले । यो फिल्मले संस्कारको करा मात्र नभई माया, प्रेम, इतिहास, शिक्षा, सम्बन्ध, पैसा, चेतना जस्ता विषयहरुका पनि गम्भीर ढङ्गले उठान गर्ने छ । धेरै अध्ययन, अनुसन्धान पछि मात्र यो फिल्म लेखेको छु । लेख्न नै करिब दुई वर्ष लाग्यो मलाई । स्टोरी आउटलाइन तयार गर्न करिब एक वर्ष अनुसन्धान गर्नु पर्यो, र लेख्न थप एक वर्ष नै लाग्यो ।

७. प्रश्न : गुरुङ समुदायमा प्रायः पुस्तक, फिल्महरु सार्वजनिक भएपछि विवादमा फस्ने गर्छ, तर तपाईको कृतिले सबैको मन जितेको देखिन्छ । तपाईसंग विवाद नगराउने कुनै फर्मुला छ की कसो ?
उत्तर : गुरुङ समुदायको संस्कारलाई लक्षित गरेर कुनै सिर्जना गर्न आफैमा गाह्रो काम हो । किनकी गुरुङ संस्कार ठाऊँ अनुसार फरक देखिन्छ । कुनै एक ठाऊँलाई लक्षित गर्दा अर्को ठाऊँ संग नमिल्ने सम्भावना हुन्छ । यो दृष्टिकोणले नेपाली फिल्म भन्दा गुरुङ फिल्म लेख्न धेरै गाह्रो छ । विवादलाई कम गर्न म दुई तरिका अपनाउछु । पहिलो कुरा, म जे जति लेख्छु, त्यो भन्दा बढि अनुसन्धान गर्छु । विना अनुसन्धान, म केही पनि लेख्दिनँ । दोस्रो कुरा, मैंले जुन विषयमा लेख्छु, त्यसलाई त्यो भन्दा बाहिरबाट पनि जाँच्ने गर्छु, केलाउने गर्छु । जस्तै संस्कारबारे लेख्नु पर्दा त्यसलाई म विज्ञान, कला, दर्शन, मानवता, समाज, राजनिति, मनोविज्ञान इत्यादिका क्षेत्रबाट जाँचेर हेर्ने गर्छु । अनि विवाद हुन्छ की हुन्न थाहा लागीहाल्छ ।

८. प्रश्न : तपाईले आफनो कृतिलाई विविध क्षेत्रबाट जाँच्छु भन्नु भयो । गुरुङ समुदायमा ज्ञानको धेरै ठुलो खाडल देखिन्छ । तर तपाईले यति धेरै विविध क्षेत्रका ज्ञानहरु बटुल्न कसरी सक्नुभयो ?
उत्तर : संसार त केवल हेर्ने दृष्टिकोण हो । कुनै पनि चीजलाई हेर्ने तरिका जान्नु पर्छ । गुरुङ समुदायको अवस्था झट्ट हेर्दा ज्ञानको लागि बाधक जस्तो देखिन्छ, नकारात्मक जस्तो देखिन्छ । तर मेरो लागि त्यस्तो कहिल्यै भएन । मैंले त्यसलाई फरक तरिकाले ग्रयाप गरेको छु ।

९. प्रश्न : फरक तरिका भन्नाले कस्तो फरक ?
उत्तर : हो गुरुङ समुदायमा ज्ञानको खाडल छ, तर मलाई यसले उल्टै फाइदा दिएको छ । मैंले यो अवस्थालाई फरक तरिकाले ग्रयाप गरें । म निराश भइनँ । बरु खाडल छ, मैंले पुर्नुपर्छ भन्ने लाग्यो । त्यसैले धेरै ज्ञान मैंले बटुल्नु आवश्यक छ भन्ने लाग्यो । यदि गुरुङ समुदायमा त्यस्तो खाडल हुन्थेन भने, शायद ममा त्यो सोच नै पलाउने थिएन । म कुनै एउटा क्षेत्रको ज्ञानमा सीमित हुन्थें होला, त्यसैमा सन्तुष्ट भएर बस्थे होला । तर त्यही खाडल भइदिएर नै अन्य विविध क्षेत्रका ज्ञान हासिल गर्न म बाध्य भएँ, तत्पर भएँ । मैंले आफनो विषय मात्र अध्ययन गरिनँ, अन्य धेरै कुराहरु आपैंmले अध्ययन गर्दै गएँ । खाडल हुनु राम्रो कुरा थिइन, तैपनि भित्र राम्रो कुरा खोजें । जसको परिणाम, आज म यो ठाऊँमा छु ।

१०. प्रश्न : ओहो ! कस्तो गजबको कुरा, कस्तो प्रेरक कुरा गर्नुभयो । भनेपछि तपाईलाई गुरुङ समुदायको वस्तुस्थितिले उल्टै ज्ञानी बनाएको भन्न मिल्छ ?
उत्तर : (हाँस्दै)…हो, अवश्य मिल्छ । यदि म अरु कुनै शिक्षित समुदायमा जन्मेको भए, अहिलेको जस्तो ज्ञान मसंग हुने थिएन । किनकी मलाई ज्ञानको खाँचो नै महसुस हुदैन्थ्यो । तर गुरुङ समुदायमा जन्में, त्यहाँको वस्तुस्थितिलाई बुझें, जसले ममा सकरात्मक परिवर्तन नै ल्याइदियो । यस अर्थमा, गुरुङ समुदायले नै मलाई ज्ञानी बनायो भन्छु म । गुरुङ समुदायको त्यो खाडल मेरो लागि बाधक भएन, बरु प्रेरक बनेर आयो । हरेक नराम्रो भित्र राम्रो पनि हुन्छ ।

साभार ; तमु प्ये ल्हु संघ नेपाल