केही दिनअघिसम्म उनको चिनारी थियो, एलेवल सिध्याएर बसेकी विद्यार्थी । जसै शुक्रबार साँझ उनको शिरमा मिस मंगोल-२०१० को ताज पर्यो, मोबाइल र घरको फोन एकाएक व्यस्त बन्यो ।
केही दिनअघिसम्म उनको चिनारी थियो, एलेवल सिध्याएर बसेकी विद्यार्थी । जसै शुक्रबार साँझ उनको शिरमा मिस मंगोल-२०१० को ताज पर्यो, मोबाइल र घरको फोन एकाएक व्यस्त बन्यो । मुलुकभरका ४० सहभागीलाई उछिनेर मिस मंगोल बनेकी १९ वर्षीया वर्षारानी गुरुङ मंगलबार साँझसम्म पनि बधाई थापिरहेकी थिइन् ।
कस्तो लागिरहेको छ ?
एकदमै उत्साहित । अझै बधाई थापिरहेकी छु । जिम्मेवारी थपिएको महसुस भइरहेको छ ।
कस्तो जिम्मेवारी ?
मंगोल संस्कृतिलाई प्रवर्द्धनको । युवाहरूलाई आफ्नो मौलिक कला, संस्कृति र भाषाप्रति इम्पावर (सशक्त) गर्न चाहन्छु ।
किन नि ?
मेरो विचारमा आइडेन्डिटी (पहिचान) भनेकै मौलिकतामा नापिने हो । कला, संस्कृति, वेशभूषा भुल्यौं भने मौलिक पहिचान कहाँ रहन्छ र ?
यसको मुख्य प्रेरणा ?
म आफैं र मेरो परिवार । हाम्रो पुख्र्यौली झापा हो, जहाँ गुरुङ भाषा बोलिँदैन । मेरो विचारमा यो आइडेन्डिटी क्राइसिस
(पहिचानको समस्या) हो । सानैदेखि गुरुङ भाषा र वेशभूषामा रुचि थियो तर मैले वातावरण नै पाइनँ ।
मिस मंगोल क्रममा सिकियो होला नि ?
हो, अलिअलि सिकियो । गुरुङ वेश र गहना कस्ता-कस्ता हुन्छन् र कसरी लगाउँछन् भन्ने थाहै थिएन ।
अनि कसरी जितियो त मिस मंगोल ?
मेरो कन्फिडेन्स (आत्मविश्वास) । अनि जजेज (निर्णायकहरू) ले मेरो ट्यालेन्ट (प्रतिभा) देखेर पनि होला ।
कस्तो प्रतिभा ?
विनर राउन्डमा `मंगोलियन युवालाई मौलिक कला र संस्कृतितिर आकषिर्त तुल्याउन के गछ्र्यौ ?` भन्ने सोधिएको थियो, मैले मास मिडियाको माध्यम अपनाउँछु र अवैरनेस क्याम्पेन
(जागरण अभियान) चलाउँछु भनेकी थिएँ । ट्यालेन्ट राउन्डमा पनि मेरो प्रस्तुति भिन्न थियो । भूकम्पसम्बन्धी पावरप्वाइन्ट शो गरेकी थिएँ ।
करिअरचाहिँ केमा बनाउने ?
वातावरणविद् बन्छु ।
मिस मंगोलले वातावरणविद् बन्न सघाउँछ त ?
यो त आफूलाई फैलाउने ठूलो प्लेटफार्म हो नि । यसले दिलाउने चिनारी र अवसरले व्यक्तिगत करिअर बनाउन पक्कै पनि सघाउने छ ।
वातावरणसम्बन्धी अनुभव ?
रातो बंगलाबाट एलेवल गर्दा प्रोजेक्ट वर्कअन्तर्गत चितवनमा पेस्टिसाइड प्रयोगबारे रिसर्च गरेकी थिएँ । भर्खरै केयर नेपालअन्तर्गत वातावरणसम्बन्धी तीन महिना रिसर्च पनि सकाइसकेकी छु ।
मिस मंगोल भएपछिको योजनाचाहिँ ?
तत्काल योजना बनिसकेको छैन । आदिवासी जनजाति संस्कृति प्रवर्द्धनसम्बन्धी केही अभियानहरूमा छिट्टै सामेल हुन्छु होला ।
पछिल्ला वर्षहरूमा मौलिक संस्कृतितिर मंगोल युवाहरू किन तानिएका होलान् ?
पहिचानको प्रश्नसँग जोडिएको भएर होला ।
Source : Kantipur |