नर्स छोडेर राजनीति - कुलचन्द्र न्यौपानेनर्स छोडेर राजनीति - कुलचन्द्र न्यौपाने
Posted On : Nov 21 2009 Saturday 06:58:25 AM | Views : 372

कुलचन्द्र न्यौपाने
२०६६ मंसिर ४ -
सभासद नभएको भए सीता गुरुङ तेह्रथुमको गाउँमा एउटा \'एनजीओ\'को प्रमुख भएर बस्थिन् । तर पैसा कमाउन होइन । हिंसा र पीडाबाट दबिएका महिलाको उत्थानका निम्ति । यसबीचमा उनको भूमिका सदरमुकाम म्यागलुङ बजार र गृहगाउँ इवामा मात्रै सीमित छैन । \'हो, सभासद नभएको भए म त्यहीं नारी विकास समाज नामको गैरसरकारी संस्था चलाइरहेकी हुन्थेँ होला\', उनी भन्छिन् । तर सभासद भएपछि पनि उनले कुनै ठूलो सपना उनेकी छैनन् ।
सभासद भएपछि भूमिकामा परिवर्तन भए पनि लडाइँ एउटै भएको उनी सुनाउँछिन् । \'लडाइँ अहिले पनि महिला हिंसा र मुक्तिका लागि नै चलेको छ\', उनी सुनाउँछिन्- \'हिजोको माथिल्लो निकायलाई दबाब दिने काम हुन्थ्यो । आफूले गर्ने कुनै भूमिका थिएन । तर आज त्यो दायित्व आफैंले लिएको महसुस हुन्छ । सयौं वर्ष ओझेलमा परेका यी मुद्दालाई उठाउने काममा सक्रिय छु । फेरि पनि यी मुद्दा ओझेलमा पारियो भने सयौं वर्ष हाम्रो आर्थिक र सामाजिक विकास पछि पर्नेछ ।\'
तेह्रथुमको दूरदराज गाउँबाट राजनीति केन्द्रविन्दुमा आएको झन्डै डेढ वर्षमा उनले एउटा गणतीय पाठ भने राम्ररी सिकेकी रहेछिन् । \'हामी दुई-दुई जोड्दा चार खोज्छौं, तर राजनीति त्यस्तो रहेनछ\', उनी भन्छिन्- \'राजनीतिमा चार कहिल्यै हुँदोरहेनछ, कति तीन त कहिले पाँच पुग्दोरहेछ ।\'
संविधानसभाको राज्यको शासकीय स्वरूप निर्धार्रण समितिमा उनी छिन्् । व्यवस्थापिकाको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिमा समेत रहेकी उनी महिलालाई कानुनी रूपमै अधिकार नदिँदासम्म राज्यको घोषणा, प्रधानमन्त्रीका आश्वासनले काम गर्न नसक्ने राम्रो अनुभव भएको उनी सुनाउँछिन् । \'त्यसैले अबको मुल कानुन संविधानमा महिलामाथि हुने सबै प्रकारका हिंसाको उन्मूलन हुने सुनिश्चितता गराउन सक्नुपर्छ\', उनी भन्छिन् ।
कांग्रेसतर्फबाट सभासद भएकी सीताले राजनीतिशास्त्रमा स्नातक गरेकी छिन् । ०५१ मा एसएलसी प्रथम श्रेणीमा पास गर्दा घरपरिवारको रहर थियो- चिकित्सक बनाउने । उनी मानिन् । स्टाफ नर्स पढ्न उनले परीक्षा पनि दिइन् । नामसमेत निस्कियो । तर उनी त्यता नलागेर म्यागलुङ बजारमै लागिन्, राजनीतिशास्त्र पढ्न । त्यसको प्रभाव अरू कोही नभएर घरपरिवार थियो । बाबु पदमबहादुर गुरुङ कांग्रेसको सक्रिय लडाकु थिए । बाबुले नै उनलाई कांगेसको चिठीपत्र, पोष्टरहरू ल्याउने/लैजाने भूमिका उनलाई दिन्थे । \'तर ०४६ को आन्दोलनसम्म कांग्रेस/एमाले भन्नेसम्म थाहा थिएन, बहुदल आइसकेपछि पार्टी-पार्टी बीचमा झगडा चर्कन थालेपछि मात्रै कांग्रेसबारे बुझेकी हुँ\', आफू कांग्रेस भएको इतिहास खोतल्दै उनले भनिन् ।
राजनीतिमा लागेपछि कतै छोरी बिग्रने हो कि भन्ने बाबुलाई पनि चिन्ता भयो । आफन्तले त स्टाफ नर्स नै पढ्न धेरै करकर गरिराखे । बाबुले छोरीलाई राजनीतिमा लाग्ने भए यी प्रश्नको उत्तर दिनु भनेर सातवटा प्रश्न तेर्साए । राजनीतिका बुझक्कड बाबुले दिएका प्रश्न थिए- \'सबै कुरा सहन सक्ने क्षमता छ कि छैन ? मनोरञ्जनतिर ध्यान जानसक्छ, त्यसलाई कसरी नियन्त्रण गर्ने ? आर्थिक प्रलोभनका कुरा आउँछन्, त्यसलाई कसरी हेर्ने ? जस्ता थिए । उनले बाबुका ती लिखित प्रश्नमा मौखिक जवाफ दिइन्- \'पच्चीस वर्षको उमेरसम्म कार्यान्वयन गर्ने वाचा गर्छु ।\' त्यसपछि राजनीतिमा लाग्ने बाटो खुला भयो । अनि सदरमुकाममा राजनीतिशास्त्र लिएर पढ्न थालिन् ।
विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा हामफालिन् । त्यसपछि तरुण दल, महिला संघको जिल्ला सभापति हुँदै हाल उनी केन्द्रीय सचिवसम्म पुगेकी छिन् । केही गरौं भन्ने जोश चलेको २५ वषर्ीया यी युवा सभासद सत्ताकेन्दि्रत राजनीतिबाट मुलुक बन्धक भएकोप्रति भने निकै दुःखित छिन् । तर संविधान निर्माणमा भने निराशा राखेकी छैनन् । आफू संलग्न रहेको समितिमा भइरहेका बहस र तर्कले संविधान राम्रो बन्ने आश पनि उनमा छ । \'राज्यको पुनःसंरचना, शासकीय स्वरूप र संघ विभाजनजस्ता महत्त्वपूर्ण मुद्दामा नेताहरू अझै प्रवेश गरेका छैनन्\', उनी भन्छिन्- \'राज्यमा सहभागिताको नारालाई सम्बोधन गर्न सक्नुपर्छ ।\' त्यसो भनिराख्दा उनी जातीय रूपमा संघको निर्धारण र राज्यको पुनःसंरचना हुनुपर्छ भन्ने मुद्दालाई भने राम्रो ठान्दिनन्- \'जातीय आधारमा हुनुपर्छ भनेर जानु हुँदैन, तर अधिकार पाउनुपर्छ भन्ने मागलाई सम्बोधन गर्नुपर्छ ।\'
Other Headlines
No comments so far