तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा - युवराज तमूतमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा - युवराज तमू
Posted On : Dec 22 2009 Tuesday 04:37:41 AM | Views : 382

***** युवराज तमू
तमू ल्होछार हिजो गुरुङ्ग समुदायमा मात्र सिमित थियो । तमूहरुका नजिकका हितैषिहरु र सिमित शुभेच्छुक गैर तमूहरु मात्र यस पर्वमा सहभागी हुन्थे । यस पर्वको सामाजिक सांस्कृतिक महत्तालाई संरक्षण एवं संवर्द्धन गर्न तमूहरुको मात्र पहिलो कर्तव्य हुन जान्थ्यो । तर अहिले समय बदली सकेको छ । राज्यले तमू ल्होछारलाई राष्टिय पर्वको मान्यता दिएर यसको संरक्षण एवं संवर्द्धनमा सबै नेपाली र राज्य स्वयंको उत्तरदायीत्व रहेको घोषणा गरि सकेको छ । यस अवस्थामा संघारमा आईसकेको यस राष्टिय पर्वलाई अहिलेको परिवेशमा के कसरी मनाउन बढि सान्दर्भिक होला भन्ने विषयमा केही धारणा राख्न चाहान्छु ।
प्रवाश र मुलकका तमू वस्तिहरु अहिले ल्होछारमय भएको छ । मुलूकका तमू संघ संस्थाहरु र डायस्पोराका तमू संगठनहरु पनि समय परिस्थिति र आ आफना गच्छे अनुसार सके सम्म भव्य तवरले तमू ल्होछार पर्व मनाउन कार्यक्रमको चांजो पांजो मिलाईरहेका छन् । काठमाण्डौ, पोखरा लगायतका तमू वस्तिहरु अनि प्रवाशमा कतार, मलेसिया, जापान, हङ्गकङ्ग, यूरोप, अमेरिका लगायतका मुलकहरुमा संगठित तमू संघ संगठनहरु तमू ल्होछार भव्य रुपमा मनाउन तयारी गरिरहेका छन् । निश्चय नै यो उल्लासमय वातावरणमा मनाउन लागिएको ल्होछार पर्व तमू समुदायमा मात्र सिमित नरही आम नेपालीकै एक गौंरवपर्ण सांस्कृतिक पर्वको रुपमा स्थापित हुन सकोस भन्नेमा आयोजक प्रतिनिधिहरु सचेत रही यसलाई सकेसम्म व्यापकता प्रदान गरी बढि भन्दा बढि नेपालीहरुको सहभागितामा सम्पन्न हुन सकोस भन्ने तर्फ उन्मुख हुनुपर्दछ ।
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन । राज्यले पहिचान गरि सकेता पनि अहिल्यै राज्यबाट यस पर्वको लागि कुनै छुट्टै कार्यक्रमहरु तय भएका छैनन् । यस अर्थमा अझै केही समय यस पर्वको उत्थान र व्यापकतामा तमू समुदाय नै थप सक्रिय हुनु पर्ने देखिन्छ । चाडपर्व जति फराकिलो, मनोरन्जन तथा उल्लासमय हुनुको साथ साथै त्यसको सांस्कृतिक र परम्परागत विशेषताहरुको आधारमा सर्वपक्षीय बन्दै जान्छ, त्यहि रुपमा जनपि्रय पनि बन्दै जाने हुंदा समय सापेक्ष तथा जनमानसको आकांक्षा अनुरुप परिमार्जन र विकाश गर्दै जानु पर्ने हुन्छ । ठेलो हान्ने र डोरी तान्ने खेलको साथमा सांस्कृतिक नाचगान, पोशाक प्रदर्शनी र मीठो खानपीन तमू ल्होछारको छुट्नै नहुने कार्यक्रमहरु भैसकेको अवस्था छ । त्यस्तै वालवालिकाको लागि चम्चा दौड, युवतीहरुको लागि सियो धागो दौड अनि आमाहरुको लागि म्युजिकल चियर दौडले पनि अविछिन्न रुपले कार्यक्रममा स्थान पाई रहेको छ । विद्यार्थी वर्गलाई समेटने गरि तमू संस्कृति परम्परामा आधारित रहेर संचालन गरिने हाजिरी जवाफ कार्यक्रमले सवै मुलूकहरुमा क्रमश स्थान पाउन थालेको छ । धार्मिक गुरुहरुको शान्ति कर्मकाण्डले पनि स्थान पाईरहेको छ भने समाज भित्र विभिन्न विधाहरुमा सफलता हासिल गर्ने र महत्वपूर्ण योगदान पुरयाउने व्यक्ति व्यक्तित्वहरुलाई सम्मान र प्रोत्साहन गर्ने मुख्य अवसर पनि यहि ल्होछारलाई मानिदै आएको छ । समय सापेक्ष महत्वपूर्ण सवालहरुमा वौद्धिक व्यक्तित्वहरुबाट ज्ञान विज्ञानका कुराहरु सुन्ने सुनाउने अवसरको रुपमा पनि यस पर्वमा स्थान दिंदै जान सान्दर्भिक देखिन्छ । यसका अतिरिक्त ल्होछारलाई थप आकर्षण दिन र स्थानीय जनचाहना मुताविक कार्यक्रमका चरणहरु समावेश गर्दै जाने लचिलो निति तमू संघ संस्थाहरुले लिनु पर्ने हुन्छ ।
तमू ल्होछार एक प्राकृतिक नियम परिवर्तनको निश्चित समयमा मनाइने पर्व हो । सूर्य उत्तरायणबाट दक्षिणायन तिर जाने क्रम संगै यसले धरतीमा रहेका वनस्पति जीव जन्तु र मानिसमा पर्ने पर्यावरणीय प्रभावलाई आधार मानेर प्रकृति पूजक तमू पूर्वजहरुबाट समयको परिवर्तन अथवा ल्हो -वर्ग) परिवर्तनको रुपमा ल्होछार मान्ने मनाउने वैज्ञानिक नियमलाई निरन्तरता दिंदै आएको विकसित रुप हो तमू ल्होछार । पौष १५ को मध्य रात पछि आगमन हुने नयां ल्होलाई सुख समृद्धिको सुखद प्रतीकको रुपमा आत्मसात गर्दै आफन्तजन र नेपाली समुदाय विच शुभकामना आदानप्रदान गर्ने अवसर हो तमू ल्होछार । वर्ष दिन भरि आफूले गरेका कमी कमजोरी, मन मुटाव, रीस राग र वैमनुस्यतालाई आत्मसात गरी प्रायस्चित गर्ने, आउने दिनहरुमा अझ पवित्र, कर्मठ र अनुशासित हुन गरिने प्रतिवद्धता र आफनो समाज भित्र थप सुसंस्कृत र सुसभ्य रहने अठोट गर्ने महत्वपूर्ण क्षण हो तमू ल्होछार । यस पर्वको पवित्रतालाई संस्थागत गर्दै अन्य समुदायमा यसको सकारात्मक प्रभाव बढाउन पनि तमू संघ संस्थाहरुले हिजोको सांघुरो दायराबाट भोलीको खुला र फराकिलो दायरा तिर अग्रसर हुनु पर्दछ ।
तमूहरुको जनसंख्याको वितरण संगै भौगोलिक भिन्नताको आधारमा तमू संस्कृति र परम्परामा एकरुपता छैन, त्यसलाई यस्तै महत्वपूर्ण चाडपर्वको अवसरमा क्रमिक एकरुपता दिंदै जानु पर्दछ । दर्जनौ तमू संघ संस्थाहरुले समयको मागलाई बुझेर ऐतिहासिक रुपमै तमू एकतालाई तात्विक निश्कर्षमा पुरयाएर आम तमूहरुको एउटै मात्र तमू संस्था \"तमू हृयूल छोज धिं - गुरुङ्ग राष्टिय परिषद\" बनेको छ, निश्चय नै यसले क्रमिक रुपमा मुलूक र मुलूक बाहिरका तमू संघ संस्थाहरुका हरेक गतिविधिहरुमा सरोकार राखी अनुगमन र अभिभावकत्व प्रदान गर्नेछ र गर्नु पर्दछ ।
अन्तमा, जसरी आज फागु पूणिर्माले एउटा समुदायमा मात्र सिमितता नपाई आम नेपालीमा व्यापकता पाएको छ, त्यसको गाम्भिर्यतालाई आत्मसात गरौं । गाईजात्रा जस्ता निश्चित जातिको संस्कृतिमा आधारित चाड पर्वले जुन व्यापक सहभागिता पाएको छ त्यसको महत्वलाई मनन गरौं । तमू ल्होछारको उपलक्षमा शभकामना आदानप्रदान, सहभागिता तथा सम्पन्न गर्न गराउन तमू समुदाय मात्र हैन यसको संरक्षण र संवर्द्धनमा सिंगो नेपाली समुदाय सरिक बनौं । यस बृहद् अभियानलाई अनुकूल वातावरण बनाउंदै जाने र पर्वको सांस्कृतिक तथा पौंराणिक विशिष्टतामा विचलन आउन नदिन खवरदारी गर्ने पहिलो जिम्मेवारी भने तमूहरुकै हो ।
तो (बाघ) ल्होको सुखद अवसरमा संसार भरका तमूहरु र नेपाली समुदायमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।
एन्टवेर्पेन, वेल्जियम
प्रतिक्रियाको लागि : tamuyubaraj@hotmail.com
Other Headlines
No comments so far