यम पाल्जें/प्हच्यु तमू
भुजुङ्ग - १, लमजुङ्ग
सर्वप्रथम घामको किरण पृथ्वीको जुन भागमा पर्žयो, त्यहि ठाउँलाई आधर मानेर समयको मापन गरिन्छ । जसलाई पच्युँहरुले पढ्दा \"ङही आपे नाँ स ल आपे नाँस\" भन्दछन् । जहां सम्म लाग्छ त्यो नै ग्रीनवीचको समय होला । जब मानव जातिमा चेतनाको विकास हुदै आयो र आफ्नो उत्पत्तिको विकास कहाँ कसरी भयो भन्ने बारेमा विभिन्न विचार र विमर्शहरु हुदै आएको छ ।
तमू जातिले पनि परापूर्व कालदेखि आफ्नो नयाँ बर्ष महान पर्वको रुपमा १५ पौषलाई मान्दै आएको पाईन्छ । यस पर्वलाई तमूहरुले आफ्नो महान पर्व मनाउदै आएकोमा अहिले आएर राष्ट्रिय पर्वको रुपमा नेपाल सरकारले मान्यता दिएको छ । स्यामा क्होलु पच्यूले लिपीको आविष्कार नहुँदै गनिने शब्द र हेरकोरको लागि हेरिने शब्द अर्थात वर्ग नक्षेत्रहरुको आविष्कार गरेको कुरा प्ये -शास्त्र) हरुमा पाईन्छ । माथि उल्लेखित कुराहरु अनुसार यो समय उत्तरी ध्रुब तर्फ आउने नयाँ दिन हो । जसले गर्दा १५ पौषलाई सबभन्दा लामो रात सकेर लामो दिन तिर लाग्ने हुनाले अथवा सूर्य उत्तरी ध्रुवबाट दक्षिणी ध्रुबमा पुगेर पुनः उत्तरी ध्रुब तर्फ र्फकने दिन हो । यस दिन बर्षको सबभन्दा लामो रात र छोटो दिन हुन्छ । यो प्रकृतिको नियमसंग संबन्धित छ । अर्थात हामी तमूहरुले सूर्यलाई नै मानेको देखाउँछ । त्यही कुरालाई जोड दिदै तमूहरुले नयाँ बर्ष ल्होछार मान्दै आएको छ ।
ल्हो -वर्ग) मान्ने जातिहरु मध्ये तमू प्रमुख जाति पनि हो । ल्हो जम्मा १२ वटा हुन्छन् । यस बर्षको तो ल्होबाट गिन्ती गर्दा तो ल्हो, हि ल्हो, मु पि्रल्हो, सपि्र ल्हो, त ल्हो, ल्हु ल्हो, प्र ल्हो, च्यहृ ल्हो, खि ल्हो, फो ल्हो, च्यू ल्हो र ल्वों ल्हो हो जुन हरेक बर्ष फेरिन्छ । १२ महिना पुगे पछि एक बर्ष भने झैं १२ ल्हो घुमी सकेर एक चक्कर पूरा गरे पछि त्यसलाई ल्हो कोर भनिन्छ । ल्होकोर पाउना साथ कसको उमेर कति पुग्यो भन्ने कुरा सजिलो संग थाहा पाउन सकिन्छ ।
ल्होछार मान्ने हामी तमू जातिले बुझ्नु पर्ने कुरा के हो भने सम्वत भनेको हरेक बर्ष अगाडि बढेर जान्छ तर ल्हो -वर्ग) बढेर जादैन । सूर्यलाई पृथ्वीले परिक्रमा गरेर १२ महिना पुग्छ, त्यसलाई एउटा ल्हो मानिन्छ । यसरी १२ बर्ष पुगे पछि पुनः सोही ल्होको सुरुवात हुन्छ । यसरी यो महान पर्व ल्होछार प्रकृतिसंग समेत जोडिएकोले यसमा वैज्ञानिक सत्यता समेत पाईन्छ ।
ल्हो -वर्ग) को उत्पत्तिलाई रुस र चीनको सिमा चौं नाँसबाट स्यामा क्ह्रोलु पच्युले आफ्नो प्ये -शास्त्र) मा उल्लेख गरेको कुरा तमू पुरोहितहरु सहर्ष स्विकार गर्दछन् । तमू जाति बाहेक शेर्पा, तामाङ्ग, तिब्बतियनहरुले समेत ल्होछार पर्व मनाउँदछन् । जुन माघे औशीं तिर पर्दछ । ल्होछार मान्ने जातिहरुले तोला, सोनाम, ग्याल्बो गरी तीन नामबाट ल्होछार मान्दै आएको पाईन्छ ।
वास्तवमा ल्होछारको अरु बैज्ञानिक तथा प्राकृतिक तत्वहरुलाई केलाउने हो भने प्रथम पुरुष उत्पत्ति भएको दिन पौष १५ जुन दिन ङ्ही आपे नाँसमा घामको किरण टेकेको र माघे औंशी -लासी) मा स्त्रीहरु उत्पन्न भएको थियो । तमू जातिले पुरुष उत्पन्न भएको दिन पौष १५ लाई मान्दै आएको पाईन्छ । कतै स्त्री मान्नेले माघे औंशी पनि मान्दछन् । जे होस् वैज्ञानिक सूचना प्रविधिको युगमा समेत संसारको आधा जति मूलुकमा अझै ल्होबाट बर्ष गन्ने प्रचलन यथावत छ र समग्रमा भन्नु पर्दा प्रकृतिवादी गुरुङ जातिले मानेको यो राष्ट्रिय पर्व वैज्ञानिक तथ्यमा आधारित देखिन्छ ।
१५ पौष पछि विस्तारै जाडो कम हुदै जान्छ । सूर्यले दिशा परिवर्तन गरी उत्तर तर्फ लाग्दछ । अथवा सूर्य उत्तरायण हुन्छ । तसर्थ दक्षिणी ध्रुब विस्तारै चिसिन्छ र उत्तरी ध्रुब विस्तारै तातिदै जान्छ । जमीन तातो भए पछि जमिनमा भएका किराहरु, चराहरु, जीव जन्तुहरु खुशीले रमाउछन् । झारपात तथा रुख बिरुवाहरुमा नयाँ पालुवा लाग्दै जान्छ । पृथ्वीमा भएका जीव जन्तुहरुले नयाँ रुप धारणा गर्ने मौसम भएको कारणले समेत तमू जातिले यो महिनालाईर् नयाँ बर्षको रुपमा मान्दै आएको हुनु पर्दछ ।
राष्ट्रिय पर्व ल्होछार तमूहरु विच आपसी भेटघाट, शुभकामना आदान प्रदान, नयाँ कामको थालनी, आपसी सद्भाव, संगै बसेर सहकार्य गर्ने, ठुलाबडाबाट आशिर्वाद लिने, आफ्नो संस्कृति भेष भुषा, भाषा संबन्धि विचार विमर्श गर्ने, स्यों कैं -उठाएर खाने ), नाँच गान गरी रमाईलो गर्ने पर्व हो ।
आफ्नो भाषा, धर्म, परम्परा, रितिरिवाज सबैलाई प्यारो लाग्छ । त्यही भएर विदेशी भूमीमा रहेका तमूहरुले पनि आफ्नो धार्मिक, ऐतिहासिक संस्कार र संस्कृति, भाषा, भुषालाई संरक्षण एवं संबर्धन गर्न विभिन्न देशहरुमा विभिन्न संस्थाहरु स्थापना गरेका छन् । ती सबैले जहाँ जुन अवस्थामा भएर पनि आफ्नो महान राष्ट्रिय पर्व मनाउदै आई रहेका छन् । कतारमा रहेका तमूहरुले पनि यस पर्व मनाउन निरन्तरता दिई रहेका छन् । \"प्ये म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ, ल्हु, म्हमु, ल्हु म्हस्याँ, म्ही म्हमु\" अर्थात \"शास्त्र हराए परम्परा हराउँछ , परम्परा हराए, संस्कृति हराउछ र संस्कृति हराए मान्छे नै हराउछ\" भन्ने शास्वत नाराका साथ अगाडि बढीरहेको तमूहरुको हरेक बर्ष आफ्नो धार्मिक, ऐतिहासिक संस्कार परम्परा र संस्कृतिलाई संरक्षण गर्न कतारमा स्थापित तमू बौद्ध सेवा समितिले विभिन्न कार्यक्रमहरुको आयोजना गरीरहेको छ । यस पटक पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी नजिकै आई रहेको तो ल्होछार पर्व हर्षोल्लासमय वातवरणमा मनाउन आवश्यक तयारी गरि रहेको छ ।
यसरी आफ्ना पुर्खाहरुले परापुर्व काल देखि मान्दै आई रहेको सांस्कृतिक र वैज्ञानिक सत्ययताले सजिएको यो राष्ट्रिय ल्होछार पर्व सम्पूर्ण तमू बन्धुहरुले आत्म साथ गर्दै यस पर्वलाई एकता र भातृत्वको प्रतिकको रुपमा मान्नु पर्ने देखिन्छ । यस वर्ष ल्वों ल्होको विदाई गरि नजिकै आई रहेको तो ल्होको स्वागत गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण तमूहरुको सुख शान्ति सम्वृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ..............
जय तमू
हाल : दोहा, कतार ।