लाहुरे बन्ने धुनमा सकिँदै छौंलाहुरे बन्ने धुनमा सकिँदै छौं
Posted On : Jan 25 2010 Monday 05:12:44 AM | Views : 375

मनोज गुरुङका जिजुबाजे मनिराज गुरुङ बि्रटिस सेनामा सिपाही थिए, जसले प्रथम विश्वयुद्धमा बेलायतको पक्षमा लडे । बाजे बखतबहादुर गुरुङ पनि बि्रटिस सेनामै भर्ती भए र दोस्रो विश्वयुद्धमा अग्रमोर्चामा लडे । जिजुबाजे र बाजेकै बाटो पछयाएर उनका बुबा ओमप्रसाद पनि सेनामै भर्ती भए । तर, दूरदेश बेलायतमा होइन, भारतीय सेनामा । विदेशी सेनामा भर्ती भएर युद्धमा जानु वा \'लाहुरे\' हुनु गुरुङ समाजमा गर्व र इज्जतको विषय हुन्थ्यो, अहिले पनि त्यो परम्परा लगभग उस्तै छ ।
गुरुङका हकमा मात्रै कुरो फरक छ- भर्ती भएर पुख्र्यौली विरासत जोगाउने दिशाको विपरीत उभिन पुगे उनी । तीन-तीनपुस्ताले लगातार हिँडेको बाटो चटक्कै छाडेर मनोज भर्ती संस्कृतिको अर्को धु्रवमा खडा छन् अहिले । \'यो लाहुरे संस्कृतिले\' मनोजले भने, \'जनजाति युवाको ऊर्जा र जाँगर बर्सेनि नष्टमात्रै गरिरहेको छ ।\' यस प्रस्तावनाको थप व्याख्या पनि उनीसित छ । उनीसित नेपाली जनजाति युवाको ऊर्जा र जाँगर ध्वस्त पार्ने परम्पराबारे सचेतना फैलाउने सानोतिनो योजना पनि छ । पोखरामा बसोबास गर्दै आएका गुरुङ माघको पहिलो हप्ता आफू जन्मे-हुर्केको पर्वतको आर्थर पुगेका थिए । त्यहीँ उनले पंक्तिकारसँग भर्ती संस्कृतिबारे आफ्नो बुझाइको सविस्तार चर्चा गरे ।
सहर झरिरहेछ तमुवान
मनोज आर्थरमा बालादिन र किशोरकाल बिताएका \'हुनेखाने\' गुरुङ ठिटा हुन् । पन्चासे पहाडको काखमा खेलेका मनोज अब त पोखरा झरेको पनि १२ वर्ष भइसक्यो । उनका जेठा दाजु स्कटल्यान्डमा होटल व्यवसायमा संलग्न छन् । माहिलो दाजु उहिल्यैदेखि लन्डनमा किराना पसल चलाएर बसेका छन् । साहिँलो र काहिँलो दाजुको सम्पूर्ण परिवारको बसाइ हङकङतिरै छ । पुर्खाको \'लाहुरे\' विरासतभन्दा भिन्न यी कान्छा (मनोज) मात्रै देशभित्र छन् । देशभित्र त छन्, तर उनलाई आफू पनि आफ्नै थातथलोमा छैन भन्ने चिन्ताले साँझबिहान लखेटिरहन्छ । \'म आर्थरको मान्छे हो,\' उनले भने, \'पोखरा त म बसोबासमात्रै गरेको पो । माया पनि मलाई यतै आर्थरको नै औधी लाग्छ । विभिन्न अभाव र असुविधाले गर्दा पोखरा बस्नुपर्ने बाध्यता छ ।\' हाँस्दै उनले थपे, \'तैपनि, आफ्नो गाउँमा वेलावेलामा त आइनैरहेको छु । मलाई त अझै पनि यतै बस्न मन लाग्छ ।\'
चार/पाँच महिनाको फरकमा मनोज आर्थर पुगिरहन्छन् । पोखरा झर्यो कि गाउँको न्यास्रो लाग्न थाल्छ । यसपालि आर्थर-डाँडाखर्क महोत्सवको अवसरमा उनी जन्मथलो उक्लेका थिए । आर्थर उनको जन्मथलोमात्रै होइन, उनी हुर्केको पनि त्यहीँ हो । केटाकेटीमा उनी त्यहीँ खेले, त्यहीँ डुले, त्यहीँका साथीसँग झगडा गरे, रमाइलो गरे । ठिटो होउन्जेलको जीवन पन्चासेचुलीमन्तिरको त्यही आर्थरको डाँडोमा बिताए । त्यहीँको पञ्चकोसी माध्यमिक विद्यालयमा उनले माध्यमिक तहसम्मको शिक्षा पूरा गरे । स्थानीय पत्रकार दुर्गाप्रसाद शर्मालाई देखाउँदै उनले भने, \'यो दुर्गा र म एउटै कक्षामा पढ्थ्यौँ । यो पढाइमा खुब मिहिनेत गथ्र्यो, म यसलाई सताउँथेँ । किनभने मेरो ध्यान त भर्ती हुनेतिर थियो ।\' छेउमै बसेका शर्मा बाल्यकालको साथीको उटुंगो सम्झेर मुस्कुराइरहेका थिए । उनले भने, \'मनोजले गाउँ छाडे पनि बसाइँ सरेको छैन । आर्थरमा गाउँ छाड्नेहरू थुपै्र छन्, तर बसाइँ सर्ने एकदमै कम ।\'
आर्थर-डाँडाखर्कमा जम्मा सात सय ५८ घरधुरी रहेछन् । \'त्यसमध्ये,\' पत्रकार शर्मालाई उछिन्दै फेरि मनोज बोले, \'तीन सय २६ घरधुरी पोखरा बस्छन् ।\' अचम्म ! कास्की जिल्लाको पोखरा उपमहानगरपालिकामा बसोबास गर्ने झन्डै चार सय परिवारको घरधुरी गणना पर्वतको आर्थरमा हुने रहेछ । मतदाता नामावली, जनगणना, खानेपानी, बिजुली सबै अभिलेखमा उनीहरू आर्थरका बासिन्दा हुन् । गाउँमा परिआएका अवसर र अप्ठेरामा पनि उनीहरू आर्थर नै पुग्छन् । तर, बसोबास पोखरा छ । \'कुरो त्यत्तिमात्रै होइन,\' मनोजले भने, \'आर्थरका ५२ घरधुरी काठमाडौंमा बस्छन् । बुटवल र चितवनमा बस्ने पनि लगभग त्यत्ति नै छन् ।\' गाउँभन्दा पर रहे पनि आर्थरेले गाउँको माया मार्न नसकेको बताए पत्रकार शर्माले । उनले भने, \'सहरमा बसे पनि उनीहरूले न गाउँको घरखेत बेचेका छन्, न त औपचारिक रूपमा बसाइँ नै सरेका छन् ।\' बरु वेलावेला फर्केर आइरहँदा रहेछन्, जसरी मनोज उक्लिरहन्छन् ।
जन्मथलोको माया त कसलाई लाग्दैन र ! झन् वैंशालु दिन पनि त्यहीँ बितेको थियो मनोजको । वेलावेला आर्थर पुग्दा उनलाई आफ्नो सुखद बाल्यकालको सम्झनाले झस्काइरहन्छ, पुराना दिनको यादले एकोहोरो बनाउँछ । मनोज गुरुङलाई थप झस्काउनका लागि अहिले आर्थरले आफ्नो रूप दिनप्रतिदिन \'फेर्दै\' गएको छ । त्यो रमाइलो गाउँमा प्रत्येक वर्ष घर खाली भइरहेका छन् । गुरुङ बाहुल्य बस्तीबाट हुनेखाने गुरुङ काठमाडौं, पोखरा, कुश्मा झर्ने क्रम \'दिन दुईगुना रात चौगुना\' भइरहेछ । आर्थिक अवस्था बलियो हुनेहरू त सिधै विदेशतिर हान्निइरहेका छन् । यसको उदाहरण स्वयं मनोजकै दाजुहरू छन् ।
अघिल्लो वर्ष कास्कीको लुम्ले तानचोक पुग्दा उस्तै उराठ र सुनसान घर देखिएका थिए । त्यो पनि गुरुङ बाहुल्य बस्ती थियो, जहाँ ढुंगाले छानो छाएका, आँगन ढुंगैले छापिएका सुन्दर घर त्यसै-त्यसै बैरागिएका जस्ता देखिन्थे । आँगनमा झार मौलाउँदै थियो, पिँढीमा राखिएका दाउराका टेकाले झयाल-ढोका छेकेका थिए । यसपालि आर्थरमा पनि गुरुङहरूकै घर बढी एक्ला र उदास देखिए । छाडेर जानेहरू कहाँ गए थाहा छैन, फर्केर कहिल्यै आउने हुन् कि हैनन्- त्यो पनि थाहा छैन । तमुवान क्रमशः सहर झरिरहेको दसी हो यो । मनोज पनि यो स्विकार्छन् । उनले प्रतिप्रश्न गरे, \'अवसर छैन त तमुहरू के गरून् ?\'
\'गाउँ आउँदा नरमाइलो मात्रै लाग्छ,\' मनोज आफ्नै गाउँमा पुगेर मलिन देखिए, \'घर सुनसान-सुनसान छन्, खेतबारी झन्झन् बाँझो छोडिँदै छन् । पुराना गोरेटा बाटा झाडी र जंगलले पुरिँदै गएका छन् ।\' ढुंगाका फराकिला छपनी छापेका र पर्खालले घेरेका उकालो-ओरालो बाटो साँच्चिकै पुरिँदै थिए । उनले भने, \'हामी बच्चामा हिँडेका थुप्रै बाटो अहिले जंगल र झाडीले पुरिएर फेलै पर्दैनन् ।\' आफ्नो गाउँको बिजोग देखेर मनोजले मन थाम्न सकेनन् । गाउँकै कथालाई आधार बनाएर उनले आफ्नै निर्देशन र परिकल्पनामा \'मातृभूमिको आत्मकथा\' नामको वृत्तचित्र निर्माण गरे । त्यस वृत्तचित्रमा उनले आर्थरजस्तै उराठिँदै गएको घरदेशको आवाज उठाएका छन्, त्यो आवाज सहर वा परदेश पसेका आफन्तीसम्म सन्देश पुगोस् भनेर नै निर्माण गरेका हुन् ।
महोत्सव र मेला कार्यक्रम गाउँमै आयोजना गर्न उनी तम्सन्छन् । \'यही कार्यक्रमले गर्दा बीसौँ वर्षसम्म गाउँ नआएकाहरू यहाँ फर्केका छन्,\' उनले भने, \'आउँदै-जाँदै गर्दा नै गाउँको माया बढ्दो रहेछ । धेरैले यहाँ आएका वेला आ-आफ्ना घरको मर्मत गर्छन्, सरसफाइ गर्छन्, कसैलाई बस्न र स्याहार गर्न दिएर र्फकन्छन् ।\' आर्थरमा अधिकांश सहरवासी गुरुङका घर स्थानीय दलित परिवारले कुर्ने गर्दा रहेछन् । आर्थिक अवस्था कमजोर भएका र भूमिहीन दलित परिवारका लागि त्यो \'अवसर\' हुँदोरहेछ । \'मेरो घरमा बस्देऊ न भन्नका लागि,\' मनोजले हाँस्दै भने, \'मैले पनि झपटे विश्वकर्मालाई केही रसिलो-रसिलो कोसेली लिएर आएको छु । खेत रोप्नका लागि गोरु किनिदिएको छु ।\'
०००
द ब्रेभ गुर्खाज
अब फेरि मनोज भर्ती संस्कृतिबारेको आफ्नो प्रस्तावनाको व्याख्यातिर फर्के । थातथलोको पिरलोले वृत्तचित्रमा हात हालेका उनले \'भर्ती संस्कृति\' माथि पनि वृत्तचित्र बनाउने तयारी गर्दै रहेछन् । उनका पुर्खा दाजुभाइ, आफन्त र छिमेकीका अधिकांश पुरुष \'गोर्खाली वीरता\' प्रदर्शन गर्न बि्रटिस वा भारतीय सेनामा भर्ती भए । गुरुङ परिवारमा छोरो जन्म्यो कि बाउआमाको सम्पूर्ण ध्यान \'कसरी यसको ज्यान लाहुरे हुनसक्ने बनाउने\' भन्नेमा खर्चिइन्थ्यो । त्यो संस्कृति अहिले पनि जनजाति परिवारमा बलियो नै छ । ३० वर्षे यी गुरुङ भने अहिले फरक चेतना बोकेर गोर्खा भर्तीको नकारात्मक असर खोतल्ने कामतिर व्यस्त छन् । पुर्खाको बिँडो नधानेर \'गोर्खा भर्तीले हाम्रा युवाको ऊर्जा नष्ट पारिरहेछ,\' भन्दै छन् ।
\'हरेक वर्ष ७० देखि ८० हजार आदिवासी/जनजाति युवा भर्ती हुने तयारीका लागि दौडिरहन्छन्,\' मनोजले आफ्नो अध्ययनको आँकडासहित भने, \'तर, प्रत्येक वर्ष बि्रटिसले जम्मा तीन सय ५० जना मात्रै छनोट गरेर लैजान्छ । हजारौँ-हजार युवालाई अयोग्य घोषणा गर्छ ।\' उनले भन्दै गए, \'एसएलसी उत्तीर्ण भएपछि अधिकांश जनजाति युवाको ध्यान कसरी बि्रटिसमा भर्ती हुने भन्नेमा केन्दि्रत हुन्छ । प्रमाणपत्र तह पढ्ने समयमा उनीहरू कक्षामा जाने, पढाइमा मिहिनेत गर्नेभन्दा कसरी भर्ती हुने भनेर साँझबिहान शारीरिक कसरत गरिरहन्छन् । दौडन्छन्, उप|mन्छन्, अनेक व्यायाम गर्छन् । सीप सिक्ने र अध्ययन गर्ने युवा उमेरको सम्पूर्ण ऊर्जा दौडनमै खर्चन्छन् । प्रतिफल के हुन्छ, तपाईंलाई थाहा छ ?\' उनले प्रतिप्रश्न गर्दै भने, \'प्रतिफल उनीहरू भर्तीम्ाा असफल हुन्छन् । एक वर्ष होइन, दुई वर्ष होइन, चार/पाँच वर्षसम्म पनि उनीहरू असफल बनाइन्छन् । जाँगर, उत्साह र ऊर्जा नष्ट भइसकेको हुन्छ, दौडँदादौडँदै उनीहरू थकित, गलित र हतोत्साही हुन्छन् । अनि उनीहरू देशभित्रै अयोग्य, अशिक्षित र कुनै सीप नभएका हुन बाध्य छन् ।\'
आमजनजाति युवाबारे यत्रो विश्लेषण गरिरहेका मनोज आफैँ पनि त्यही प्रक्रियाबाट गुज्रेका थिए । भर्ती हुनकै लागि उनी चार-चार वर्षसम्म दौडेकै हुन् । उनको पढाइ पनि प्रमाणपत्र तहसम्म पुगेर रोकिएको हो । र नै, उनमा यस्तो चेतना आएको हुनुपर्छ । \'छोरो भर्ती होस् भनेर,\' उनले भने, \'आमाबाले बच्चैदेखि बिहानबिहानै दूध, अन्डा खुवाइरहनुहुन्थ्यो । म पनि दौडिरहन्थेँ । तर, आखिरीमा सफल हुन सकिएन ।\'
बि्रटिस सेनामा भर्ती हुनेलाई अहिले पनि इराक र अफगानिस्तान युद्धमा सबैभन्दा अगाडि खटाइएको छ । हिजोका विश्वयुद्धमा पनि गोर्खाली सेनालाई अग्रमोर्चामा मात्रै पठाइन्थ्यो । \'दोस्रो विश्वयुद्धमा चौध/पन्ध्र वर्षको नहुँदै नेपाली युवालाई भर्ती गरेर लगियो । युद्धमा लडेर घाइते र अंगभंग भएपछि अयोग्य भनेर हजारौँलाई विनासुविधा फिर्ता पठाइएको छ,\' उनले भने, \'विश्वयुद्धमा सहभागी नेपाली योद्धाको यस्तै कथामा आधारित भएर वृत्तचित्र बनाउँदै छु- द ब्रेभ गुर्खाज ।\'
मनोजले दुई वर्षदेखि अध्ययन र सामग्री संकलन गर्दै रहेछन् । \'दोस्रो विश्वयुद्धताका नेपालको जनसंख्या ४० लाखमात्रै थियो । त्यसमध्ये दुई लाख युवा युद्धमा गएका थिए,\' मनोजले भने, \'६०/७० हजार नेपाली त युद्धमा मरिसकेका थिए ।\' अहिले उनी \'द ब्रेभ गुर्खाज\' कै लागि पुराना फुटेज, तस्बिर र अन्य अभिलेखको खोजीमा छन् । वृत्तचित्रले बि्रटिस र भारतीय सेनामा भर्ना हुन चाहने युवामा केही न केही सन्देश दिने उनको विश्वास छ । उनले भने, \'खासगरी जनजाति युवालाई स्वदेशमै शिक्षित हुन र यहीँ सीप सिक्न प्रेरित गर्नुपर्छ ।\'
Naya Patrika
Other Headlines
No comments so far