साधारण भाषामा `आदिवासी` भन्नले कुनै भू-भाग, देश वा स्थानमा पहिल्यैदेखि नै बसोबास गरी आएको जाति, आदिम निवासी र आदिम जातिलाई जनाउँछ । `आदिवासी`शब्द सास्कृत भाषाबाट आएको हो र यो `आदि` = आरम्भकाल र `वासी`= निवासी दुई शब्दहरूको संयोजनले निर्माण भएको शब्द हो । जसको शब्दिक अर्थ हुन्छ-कुनै ठाउँ विशेषमा सबैभन्दा पहिलेदेखि बसोबास गरिआएका मानिसहरू । नेपालका आदिवासी सम्बन्धी परिभाषा यस्तो छ -`जुन जातीय समुदायको मूलप्रवाहको राष्ट्रिय समुदायको भन्दा भिन्न उत्पत्ति, आफ्नै विशिष्ट एवं मौलिक सांस्कृतिक एवं भाषिक परम्परा छ र जसको वर्तमान धार्मिक विश्वास प्राचीन प्रकृतिवाद, पितृ, भूमि, ऋतुजस्ता प्रकृतिपूजामा आधारित छ अथवा जसले वर्तमान राज्यद्वारा स्थापित हिन्दू धर्मलाई आफ्नो परम्परागत मौलिक धर्म भनी दावी गर्दैनन् ।` यस परिभाषाले आदिवासी र जनजाति दुबैको परिभाषा धेरै हदसम्म एकसाथ दिएको छ । त्यसकारण धेरै ठाउँहरूमा आदिवासी र जनजाति, यी दुई शब्दहरू एक साथ जुडिएर `आदिवासी जनजाति` भएर आउँछन् । माथिको परिभाषाले आदिवासी जनजातिहरूका अन्य थुप्रै पहिचानहरू प्रष्ट पार्छन् जस्तै कि-`यिनका पूर्वजहरूले आधुनिक नेपाल राज्यको सिमाना क्षेत्रभित्र पर्ने कुनै एउटा खास भूभागमा आफूलाई पहिलो वा पहिलो मध्येको वा मूल बासिन्दाको रुपमा स्थापित गरेका थिए, जसको आफ्नै लिखित वा अलिखित (मौलिक) इतिहास र ऐतिहासिक निरन्तरता छ । साथै, यी आदिवासी जनजातीय समुदायहरू समानतावादी संरचनामा आधारित छन् अर्थात् हिन्दू आर्यहरूमाझैं जातप्रथा र वर्णअनुसारको श्रमविभाजन तथा लिङ्गभेदलाई आफ्नो समाजको आवश्यक शर्त मान्दैनन् जसले गर्दा राज्यद्वारा स्थापित हिन्दू धर्मलाई आफ्नो परम्परागत मौलिक धर्म भनी दावा गर्दैनन् ।`
मेरो यस लेखको उद्देश्य आदिवासी र जनजाति शब्दहरूमा के-कस्ता समानता वा भिन्नता छन् भन्ने होइन । र यसको उद्देश्य गुरुङहरू मात्रै नेपालका आदिवासी हुन् भन्ने पनि होइन । यस लेखको एकमात्र लक्ष्य भनेकै हामी गुरुङहरू पनि नेपालका आदिवासी हौं भन्नु हो । नेपालको सन्दर्भमा लेख्नुपर्दा यहाँका आदिवासी जनजातिहरू आधुनिक नेपाल राज्यको विस्तार क्रममा आफ्नो मूल थलो मै विस्थापित भएका छन् । यी आदिवासी जनजातिहरू आफ्नै थातथलोका प्राकृतिक स्रोतहरू (किपट, कृषि योग्य जमिन, पानी,खानी, व्यापारिक नाका आदि) माथिको आफ्नो परम्परागत अधिकारबाट वञ्चित हुन पुगेका छन् । उनीहरू नेपालको राजनीतिक शासन व्यवस्थामा निणर्ायक भूमिका खेल्नबाट वञ्चित छन् र उनको प्राचीनतम संस्कृति, भाषा, धर्म उपेक्षित छ भने तिनको सामाजिक मूल्य र मान्यताहरू अवहेलित छन् ।
मेरो यस लेखको एकमात्र उद्देश्य भनेकै हामी गुरुङहरू नेपालका आदिवासी हौं भन्नु हो । यस भनाइको पुष्टि गर्न थुप्रै प्रमाणहरू उपलब्ध छन् । हाम्रो मौलिक प्ये-शास्त्र अनुसार हामी गुरुङहरू सबैभन्दा पहिले पश्चिम मंगोलियातिर अवस्थित CHO (TSO) NASA (नाँसाँ=गाउँ)मा बस्थे । त्यहाँ देखि SA NASA , DWO NASA, SI NASA हुँदै KRO NASA पुगे । KRO NASA चीनको पश्चिम भाग अर्थात् उत्तरी तिब्बततिर पर्छ । यसप्रकार हामी गुरुङहरू मंगोलियाबाट तल झरेको तथ्य प्रमाणित हुन्छ । तर यहाँ विशेष ध्यान दिनु पर्ने कुरो के हो भने गुरुङहरूको सबै जमातहरू उत्तर तिब्बत तिर बाट एकै साथ एकै समयमा आएका चाहिँ होइनन् । हामी गुरुङहरू इतिहासको प्रारम्भिक समयदेखि धेरैपछिको समयसम्म शिकारी र गोठालो जीवन बिताइ रहेका थिए । गुरुङहरू बस्तु भाउहरू पाल्दथे र अग्ला अग्ला पर्वत श्रेणी र धाँसका मैदानहरूमा बस्तुभाउहरू चराउँदथे । हिउँले ढाकेको हिमाल-पहाडलाई पार गरी धाँसे मैदान खोज्दै हिँड्दथे । उनको कुनै निश्चित घर थिएन । प्राकृतिक गुफा-ओडारहरू नै प्राचीनकालीन गुरुङहरूका घर थिए । यसैसित सम्बन्धित एउटा कथा अनुसार- `हिमालपारि एक चोटि गोठालाहरूले बाटो बिराए । ती मध्ये एक जना गोठालो हराएको जनावर खोज्न हिउँपार गर्दै अन्त्यमा एउटा उर्वरा भूमिमा पुग्यो । ऊ त्यस ठाउँबाट प्रभावित भएर फक्र्यो। यो खुसीको खबर एक-कान-दुई-कान मैदान भयो र सबैलाई थाहा भयो । अनि भाग्य अजमाउन खोज्ने धेरै गोठालाहरू दक्षिणको त्यस क्षेत्रतिर लम्के ।` यी हरफहरू प्रसिद्ध फ्रन्सन्सेली लेखक तथा अन्वेशक (अनुसन्धानकर्त्ता) सिल्भाँ लेभीको किताब `नेपाल` हिन्दू अधिराज्यको इतिहास-पहिलो खण्ड को पृष्ठ-६ बाट लिइएको हो । लेखकले त्यही किताबमा नेपालका प्राचीन आदिवासीहरू बारे यसरी लेख्छन्- `यी गोपाल एवं अभीरहरू भेडाबाख्राको बथान लिई एकान्त हिमाली पर्वतका फाँटहरू चहार्ने गोठालाहरू थिए । उनीहरूको संस्कृत नाम गोपाल (गाई पाल्ने) बाट हामी झुक्किन हुँदैन । यी गोरखा राज्यको उत्तरपटि्टको पहाडमा बस्ने गुरुङ र भोटेहरूका पूर्वज थिए । यिनीहरू तिब्बतको पठार क्षेत्रबाट आएका थिए ।` र यस कथा अथवा भनाइलाई कोरा काल्पनिक भनेर नकारने कुनै ठाउँ छैन । यो कथा एउटा सत्य तथ्यमा आधारित भनाई हो । हामी गुरुङहरूमा पनि तिब्बततिरबाट बसार्इँ सराईमा यस्तै खाले कथा प्रचलनमा छ । लमजुङ जिल्ला गिलुङ निवासी ईन्द्रबहादुर तमु `तमु संसार` पत्रिकाको जेठ-असार-साउन २०६५ अंकको पृष्ठ-७मा लेख्नु हुन्छ कि-चोंनास गाउँबाट तिब्बत हुँदै बसाई सराईको क्रममा मनाङको सब्जे ह्रन्का आई बसोबास गरेका क्रोम्चेको जिजु सोंग्रु र क्यापचैको जिजु बाजे क्याल्तेंले थार (मृग) हानेछन् । घाइते मृग अन्नपूर्ण हिमालको मलखुगेर भञ्ज्याङ्ग काटी दक्षिणतर्फ क्होल सोंथरमा मृत अवस्थामा फेला पारेछन् । आफ्नो शिकारसित फर्कीने बेला आफूले भिरेको धनुको ठोक्रोबाट उवाको बिउ झिकेर छरे । पछि आएर हेर्दा त्यो ठाउँमा लहलहाउँदो अन्नबाली देखेर त्यहाँ राम्रो अन्न हुने र बसोबास गर्ने योग्य ठाउँ ठाने । यस ठाउँबाट प्रभावित भई मनाङबाट बसाइ सर्ने विचार गरेर आषाढको अन्तिम श्रावण संक्रान्तिको दिन पारेर क्होलमा आएर बसे ।` गुरुङहरूमा आफ्नो बसाइँ सराईबारे प्रचलित यस कथाले सिल्भाँ लेभीको पुस्तकमा वर्णन गरिएको कथासित धेरै समानता राख्दा छ । प्राचीनकालदेखि नै हामी गुरुङहरू भेडाबाख्रा चराउँदै पहाडतिर हिँडीडुल्ने जाति हौं । यी प्रचलित कथाहरूले प्रमाणित गर्छन् कि पश्चिम नेपालको पहाडी भेकतिर पहिलो चोटी बसोबास गर्न आइपुगेका गुरुङहरू नै थिए । र गुरुङहरू गण्डकी अञ्चल स्थित अन्नपूर्ण हिमालको सेरोफेरोमा उहिल्यैदेखि बसोबास गर्दै आइरहेका छन् । अर्थात् हामी गुरुङहरू यस क्षेत्रका आदिम निवासी हौं ।
अर्को प्रमाण अनुसार काठमाण्डौं उपत्यकामा किराँत राजाहरूको शासनकालमा नेपालमा बुनेका घुमराडी,ऊनी कम्बल र पाखीहरूले भारतको पाटली पुत्रको बजारमा निकै भाउ पाएको थियो । मौर्य सम्राट चन्द्रगुप्त मौर्यका मन्त्री आचार्य कौटिल्यको अर्थशास्त्रमा त्यसताका नेपालबाट आयतित कम्बलबारे निम्न प्रकारको वर्णन पाईन्छ-
अष्टप्लौतिसंघात्या कृष्णा भिङ्गसिँ
वर्षवारणमपसारक इति नैपालकम् ।
-अर्थात् चाणक्य (कौटिल्य)को पुस्तकमा वर्षादको पानी छल्ने, आठ पाटा जोडेर बनाएको कालो वर्णको भिङ्गसिँ र एकैपाटाको अपसारक नामक ऊनी कम्बल नेपालका हुन् ।
गण्डकी प्रदेशको हिमाली भागमा प्राचीनकाल देखिन गुरुङहरूले बसोबास गरिआएका थिए । यी गुरुङहरू खेतीपाती, शिकार तथा पशुपालन गरी आफ्ना जीवन धान्थे । पशुपालनमा पनि विशेष भेडाबाख्रा पालने गर्थे र ऊन व्यवसायमा पोख्त थिए । भेडाबाख्राको ऊनबाट अनेक प्रकारका घुमराडी, कम्बल र पाखी बुन्न निपुण थिए यी गुरुङहरू । आजसम्म पनि पहाडी गाउँतिरका गुरुङहरूले यस पेशालाई निरन्तरता दिएका छन् । यसले पनि यो तथ्यलाई बल दिन्छ कि कौटिल्यको पुस्तकमा वणर्ीत ऊनी कम्बल त्यसताका नेपालको पहाडी गण्डकी प्रदेशमा बसोबास गर्ने गुरुङहरूले नै बुनेका हुन् । अर्थात् गुरुङहरू यस क्षेत्रका आदिवासीहरू हुन् ।
यस्तै अन्य थुप्रै प्रमाणहरू उपलब्ध छन् । कुनै जाति समुदायबारे लिखित ईतिहासको अभावमा धेरै कुराहरू उनकै सास्कृतिक, धार्मिक र सामाजिक व्यवहारबाट पनि पहिचान गर्न सकिन्छ । ईस्वी सातौं शताब्दीको पूर्वार्द्धमा स्रङ चङ गम्पो -जन्म ६१७ ईस्वी० तिब्बतको राजगद्दीमा बसे । यिनले नेपालको राजकुमारी भृकुटी तथा चीनको राजकुमारीसाग विवाह गरेका थिए । यिनै दुई राजकुमारीको प्रेरणा र प्रभावबाट तिब्बतमा बौद्ध धर्मको प्रचार र स्थापना भएको थियो । पछि बौद्ध धर्म तिब्बतको राजकीय धर्म बन्यो र यसै धर्मका सिद्धान्त अनुसार राजकाज चलाउन थालियो । यसले नया खाले बौद्ध धर्म र तिब्बतमा पहिल्यैदेखि चलिआएको बोन धर्मावलम्बीहरूको बीच संघर्ष हुन थाल्यो । बौद्ध धर्मलाई राज्यको सहयोग प्राप्त भएकोले पुरानो बोनधर्मको अस्तित्वमा अवरोध आयो । फलस्वरुप थुप्रै बोन धर्मी तिब्बतीहरू आफ्नो धर्मको रक्षार्थ दक्षिणतिर लागेको अनुमान गर्न सकिन्छ । यसप्रकार ईसाको सातौं शताब्दीको पूर्वार्द्धमा बोन धर्म मुस्ताङ जिल्लाको उत्तरी भागतिर प्रवेश भएको जस्तो देखिन्छ । पछि, ईसाको आठौं शताब्दीको उत्तरार्द्धमा तिब्बती राजाले बौद्ध धर्मको प्रचारार्थ भारतबाट गुरू पद्मसंभवलाई ल्याएर तन्त्रवादका परम्परावादी बोनमार्गीहरूका तन्त्रमन्त्र र बौद्ध धर्मका केही कुराहरू समेटी बौद्ध तान्त्रिक लामा धर्मको स्थापना गरे । उनले यस बौद्ध तान्त्रिक लामा धर्मका विरोधीहरूलाई जबर्जस्ती तिब्बतबाट हटाइयो । यस समय पनि धेरै संख्यामा बोनमार्गी लामाहरूले मुस्ताङतिर प्रवेश गरी आफ्नो बोन धर्मको संरक्षण गरेको भन्न सकिन्छ । अर्को विचारणीय कुरो के भने यी बोन धर्मीहरूको घरका माहिला छोरा लामा र छोरी झुमा (आजीवन बूढी कन्या) बस्ने आफ्नै परम्पराहरू छन् । तर हामी गुरुङहरूमा यस्तो चलन छैन । यसले पनि यो कुरा प्रमाणित हुन्छ कि यी बोनमार्गी र उनको सामाजिक परम्पराहरूले नेपालमा प्रवेश गर्नु अघि नै गुरुङहरू मनाङरमुस्ताङबाट तलतिर झरिसकेका थिए । यदि हामी गुरुङहरू ईस्वीको छैठौं र सातौं र आठौं शताब्दीतिर तिब्बतबाट खेदिएका यी बोनमार्गीहरूसित आएका भए हामीमा पनि उनको जस्तै घरका माहिला छोरा लामा र छोरी झुमा बस्ने सामाजिक परम्पराहरू र रीतिरिवाजहरूले ठाउँ पाउनु पर्ने हो । तर हामी गुरुङहरूमा यस्तो केही पनि छैन । अर्थात् हामी गुरुङहरू तिब्बतबाट बोन धर्मीहरूको प्रवेश हुनु भन्दा धेरै अघिदेखि नै नेपालको गण्डकी प्रदेशमा बसोबास गर्ने आदिवासी हौं । यीयस्ता कुराहरूले पनि हामी गुरुङहरू नेपालका आदिवासी हुन् भन्ने प्रष्ट हुन जान्छ ।
यी बाहेक मनाङरमुस्ताङगी राजवंशहरूको इतिहासले पनि हाम्रो विगतबारे जानकारी हासिल गर्न निकै सहयोग गर्छ । मनाङरमुस्ताङतिरका राजाहरूको इतिहास सातौंरआठौं शताब्दीतिरको हो । यी राजाहरूको इतिहासमा गुरुङहरूको कुनै कतै उल्लेख अथवा सम्बन्ध छैन । कारण के भने मनाङरमुस्ताङतिर यी राजकीय वंशहरूको स्थापना हुनु पूर्व नै गुरुङहरू मनाङरमुस्ताङबाट तलतिर कास्कीरलमजुङतिर झरिसकेका थिए । मुस्ताङ्गी राजपरिवारको इतिहासलाई हेर्ने हो भने चौध्वीं शताब्दीतिर आमपालले आफ्नो राज्य स्थापना गरेका थिए । उनको वंशजले लगभग दुई सय सालसम्म राज्य शासन चलाएका थिए । यस दौरान छिमेकी राज्य जुम्लासित लडाई भैरहन्थ्यो । अन्तमा १७४० मा जुम्लाले मुस्ताङमाथि विजय हासिल गर्žयो । तर मुस्ताङमाथि जुम्लाको अधिपात्य धेरै लामो चलेन । लगभग ४० वर्षपछि गोर्खा नरेश पृथ्वी नारायण शाहले जुम्लामाथि विजय हासिल गरी मुस्ताङलाई पनि आफ्नो आधीनमा पार्žयो । केही अन्य पुस्तकहरूमा-श्री ५ रणबहादुर शाहको राज्यकालमा बहादुर शाहको नायवीकाल वि सं १८४६ आश्विन ३ गतेका दिन जुम्लाको राजधानी छिनाछिम जितेपछि मुस्ताङ, डोल्पा आदि स्थान वर्तमान नेपालमा गाभियो-भन्ने कुरा पाएको छ । प्रसिद्घ लेखक इतिहासकार ज्याकसनको हवाला दिँदै प्रा.डा. जगमान गुरुङ लेख्नु हुन्छ-`पूर्व मध्यकालमा वर्तमान मुस्ताङको तल्लो भेग ठिनी र मुक्तिनाथ क्षेत्रमा शेरिब नामक राज्य स्थापना भएको देखिन्छ । उक्त शेरिब राज्यको सिमाना गण्डकी प्रस्रवण क्षेत्रको दक्षिणी हिमाली काँठ शेषान्तसम्म आइपुगेको देखिन्छ । पछि शेरब लामाका नाति अमपाल -ई. १४४०, विसं १४९७०ले मुस्ताङलाई एउटा स्वतन्त्र राज्यको रुपमा खडा गरेर डोल्पा, मनाङ र गोरखाको कुताङसम्म राज्य गरे । अमपालका नाति टाशि गोएन -ई.५१२, विसं १५६९ ०ले दक्षिणमा पर्वत राज्यमाथिसम्म पनि राज्य गरेका थिए । पछिबाट मुस्ताङ जुम्लाको करद राज्यमा परिणत भयो । मुस्ताङले जुम्ला र ल्हासालाई कर तिरेर राज्य गर्दथ्यो ।` तर थुप्रै इतिहासकारहरू भन्छन्-तेह्रौं र चौध्वीं शताब्दी तिर आमपालले मुस्ताङ राज्यको स्थापना गर्नुअघि नै सातौंरआठौं शताब्दीतिर नै मुस्ताङी राजाका वंशजले मुस्ताङमा प्रवेश गरेको र राज्यस्थापना गरेको कुरा सामान्यतः स्वीकार गर्न सकिन्छ ।
---- See in Part - 2