तमूवान प्रदेश प्रति किन भ्रम ? -- एन.बि. गुरुङतमूवान प्रदेश प्रति किन भ्रम ? -- एन.बि. गुरुङ
Posted On : Jul 5 2010 Monday 01:37:49 AM | Views : 139

एनबि गुरुङ
काठमाण्डौं
२०६२/०६३ सालको राजनैतिक परिवर्तन पश्चात मुलुकले नयाँ कोल्टो फेर्दै छ । यस वीचमा ऐतिहासिक रुपमा संविधान सभाको निर्वाचन सम्पन्न गरी नयाँ नेपालको नयाँ संविधान निर्माण गर्न ६०१ जना सभासदहरुलाई संविधान सभामा पठाएको छ । यतिखेर नेपाली जनताले संविधान बनाउन दिइएको २ वर्षको संविधान सभाको म्याद मुख्य राजनैतिक दलहरु वीचको सत्ता खिचातानीको कारण गत २०६७ जेठ १४ गते मध्य रातमा मुख्य तिन राजनैतिक पार्टीहरु एकिकृत ने.क.पा. माओवादी, नेपाली काँग्रेस र ने.क.पा. एमाले वीच तिन बुदे राजनैतिक सहमती गरी एक बर्षको लागि थप गरिएको छ । राज्यको पुर्नसंरचना हुदा जाति, भाषा र क्षेत्रलाई प्रमुख आधार मानी संघीय राज्यको निर्माण बन्नु पर्दछ भनिरहदा यहाँ संघीयताको बिरोध संगै जातिय आधारमा संघीयतामा जादा देश बिखण्डन तर्फ जान्छ, थोरै जनसंख्या भएको जाति शाषक र धेरै जाति र समुदाय शाषित बन्न पुग्दछ र जातिय युद्ध हुन्छ भन्ने भ्रमहरु बिगतदेखि एकात्मक सोच र केन्दि्रकृत राज्यसत्ताको पृष्ठपोषणमा रमाउदै आएका केही जाति र समुहमा पर्न गएको छ । यही सेरोफेरोमा तमूवान भए पछिको अˆठ्यारा र अस्पष्टताको बारेमा आम समुदायमा भ्रम पार्ने गरी थुप्रै राष्ट्रिय पत्रिकामा \\\"तमूवानको बारेमा लेख तथा प्रतिक्रियाहरु छापिरहेको छ । उत्पिडित आदिवासी जनजातिहरुलाई कताकता काउकुती लाग्नेगरी केही बुद्धिजिविहरुले पनि भ्रमपूर्ण लेख लेखेको देख्न पाउछौ । यसकारण की बुद्धिजिवीमा पनि जातिय आधारमा संघीयतामा राज्य संरचना निर्माण हुदा देशै टुक्रिने खालको अपत्यारिलो भ्रमपूर्ण लेखले निश्चय नै आम सर्वसाधरणमा भ्रम नै होला ? यो बुझिनसक्नु भ्रम अवश्य छ ।
साच्चै नेपालका मूलबासी भूमीपुत्र तमूहरुले पनि आˆनो पहिचान, प्रतिनिधित्व र पहुँचको लागि संघर्ष गरिरहेका छन् । यतिखेर नेपालका सबै जाति, समुदाय र बर्ग त्यही समानुपातिक प्रतिनिधित्व, पहुच र पहिचानको लागि प्रयत्नशिल छन् । तर जातिय आधारमा तमूवान स्वायत्त प्रदेश स्थापना हुदा किन शाषक जाति वा गैर तमूहरु तर्सनुपर्ने र भ्रमपूर्ण अभिव्यक्तिहरु प्रेषित गर्नु पर्ने ? तमूवान भएपछि कुनै गैर तमूहरु तमूवान भूमीबाट बिस्तापित हुने छैन, कुनै जातिको अधिकार खोसिने छैन र तमूवान भूमीमा बस्ने गैरतमूहरुले पनि तमूहरुले झै अर्घु गर्नुपर्ने छैन र तमू जातिको सस्कृति मान्नु पर्ने बाध्यता पनि हुने छैन । त्यस्तै गैर तमूका सन्तानहरु तमू समुदायका सन्तानहरुसागै पढ्न नपाउने, स्वास्थ्य तथा सम्पूर्ण सुविधाबाट बञ्चित हुने अवस्था पनि आउने छैन । यो किन भ्रम ? तमूवान भूमीको सबै समुदायका सन्तानहरुले समान रुपमा पढ्न खेल्न र राज्यको सबै तहमा समानुपातिक प्रतिनिधित्व र सहभागिको साथै समान अवसर पाउने छ र पाउनुपर्दछ । यो तमू जातिको मात्र बर्चस्व रहने एकल जातिय राज्य हामी तमूहरुलाई पनि स्वीकार्य छैन । अवको तमूवान राज्य सबै जातिको समानुपातिक प्रतिनिधित्व सहितको बहुजातिय राज्य हो । अवको युग सबै जाति, भाषा, धर्म र संस्कार मान्ने जाति र समुदायको समान सहभागिता सहितको युग हो । यसमा कसैले कुनै खालको भ्रम नपाल्दा हुन्छ । जातिय संघीयतामा जादा गैर तमूहरु लखेटिने हुन् की भन्ने भ्रम छ भने त्यो एकात्मक सोच र सामानती मानसिकताको जगमा रमाउदै आईरहेका जाति, वर्ग र समुदायले फिजाएको भ्रम मात्र हो । जुन भ्रमले ऐतिहासिक उत्पिडित जाति र समुदाय माथी अन्याय नै हुने निश्चित छ ।
साच्चै संविधान सभाको राज्य पुर्नसंरचना र राज्य शक्तीको बाडफाड समितिको प्रस्तावित तमूवान प्रदेशको सिमाङ्कन अति नै अव्यवहारिक र असान्र्धविक ढङ्गबाट संविधान सभामा पुर्याएको छ । तर सिमाङ्कन अव्यवहारिक भयो भन्दैमा बैज्ञानिक तथा व्यवहारिक रुपमा कसरी तमूवान प्रदेशको स्थापना गरी सबै जातिको समान पहुच र प्रतिनिधित्व हुने खालको राज्य बनाउने ? भनेर बहस गर्नु पर्नेमा किन तमूवानको बारेमा भ्रममा पर्दैछ ? किन सदियौं देखि यो भूमीका भूमीपुत्र तमूहरुको भाषा, धर्म, सस्कार र सस्कृतिको पहिचान गर्न तर्फ उन्मुख छैन ? ऐतिहासिक पृष्ठभूमी, सघन बसोवास र भाषिक तथा साँस्कृतिक एकरुपताकै कारण कालिगण्डकी देखिको बुढिगण्डकी सम्मको भू-भागलाई तमूवान स्वायत्त प्रदेश घोषणा गर्नुपर्दछ भनेर आम तमूवानवासी समुदायको साझा मागको रुपमा आवाज उठिरहेको अवस्थामा एकाद अवसरवादी तथा एकात्मक पुरातनवादी सोच बोकेकाहरुको भ्रमपूर्ण प्रचारवाजीमा नलाग्न अनुरोध छ । साथै एकात्मक खालको तमूवान राज्यप्रणालीको सोचलाई पूर्ण रुपमा दिमागबाट हटाउदै सबै जाती भाषा, धर्म र समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्व सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको बहु जातिय प्रतिनिधित्वको ग्यारेण्टी सहितको तमूवान स्वायक्त प्रदेश प्राप्तीको लागि आजैबाट लाग्ने की ?
******************
एनबि गुरुङ
सदस्य, तमूवान संयुक्त संघर्ष समिति, नेपाल ।
naratnug@yahoo.com
Other Headlines
No comments so far